सोलुखुम्बु, साउन २९ । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका १ टाक्सिन्दुमा रहेको ‘दुधकुण्ड पोखरी’ जिल्लाकै महत्वपूर्ण धार्मिक एवं पर्यटकीयस्थलका रुपमा चिनिन्छ । यहाँ हरेक वर्षको जनैपूर्णिमाको दिन भव्य मेला लाग्ने गर्दछ ।
मेलाको अबसरमा हजारौ दर्शनार्थीले दुधकुण्डको दर्शन गर्ने गरेका छन् । जनैपुर्णिमाको अबसरमा सोलुखुम्बु, खोटाङ, ओखलढुंगा लगायत तराईका जिल्लाहरुबाट दर्शनका लागि हजारौ भक्तजनहरु दुधकुण्डसम्म पुग्ने गर्छन् । सोलुखुम्बुको सदरमुकाम सल्लेरीबाट एकै दिनमा दुधकुण्ड पुग्न सकिन्छ भने बिस्तारै सहज यात्रा गर्नेहरुका लागि भने दुधकुण्ड पुग्न दुई दिन नै लाग्छ । पैदल मार्फत सदरमुकाम सल्लेरी, फाप्लु, टाक्सिन्दु र सहस्र बेनी हुदै दुधकुण्ड पुग्न सकिन्छ ।
नुम्बुर हिमालको काखैमा रहेको यो पोखरी समुन्द्रि सहतदेखि ४५३१ मिटरको उचाईमा छ । यहाँ चिताएको पुरा हुने, आत्मा शुद्धि र पितृको शान्तिको लागि पनि दर्शनार्थीहरु दुधकुण्ड पुग्ने गरेका छन् । यहाँ पुगेपछि भक्तजनहरुले हिमालको मनोरम दृष्यावलोकनसँगै लेकाली भेगको प्राकृतिक सुन्दरताको अनुभुति गर्न सक्नेछन् । त्यसकारण पनि पछिल्लो समय दुधकुण्ड पुग्ने पर्यटक तथा भक्तजनहरुको संख्यामा बृद्धि हुँदै आएको छ । त्यस क्षेत्रलाई अझै व्यवस्थीत बनाउन सके पर्यटक आगमन बढ्नेमा दुई मत छैन ।
जिल्लाकै ठूलो पर्यटकीय धार्मिक गन्तव्यका रुपमा दुधकुण्डलाई लिएपनि व्यवस्थित भने बन्न सकेको छैन । दुधकुण्ड मेलामा पुगेकी सिता आचार्य भन्छिन्, ‘यहाँको स्थानीय सरकार तथा नगर प्रमुखबाट आगामी कार्ययोजनाभित्र दुधकुण्डको यात्रा सहजताको लागि केबलकार सञ्चालनलाई अघि सारिनु सुन्दर पक्ष्य हो, अहिले ठाउँ–ठाउँमा खान बस्नको राम्रो व्यवस्था भएकाले सहजै यात्रा गर्न सकिन्छ ।’
यता, दुधकुण्ड क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलको रुपमा परिचित गराउन नगरपालिकाले पहल गरिरहेको नगरप्रमुख नाम्गेल जाङबु शेर्पाले बताए । नगर प्रमुख शेर्पाले भने, ‘हामीले दुधकुण्डजाने यात्रुलाई मध्यनजर गर्दै केबुलकार सञ्चालनको योजना पनि बनाएका छौँ, भक्तजन तथा पर्यटक आगमन कसरी बढाउन सकिन्छ भन्नेबारे पनि नगरपालिकाले सोचिरहेको छ ।’
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com