वनलाई व्यवसायीकतामा जोड्ने योजना बन्दैछ : अध्यक्ष असिम राई
White Khabarप्रकाशित मिति: २०८० फागुन १८, शुक्रबार (७ महिना अघि)
९७९ पाठक संख्या
फागुन, १८ । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा सामुदायिक बन उपभोक्ता समितिका पदाधिकारी बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा शुक्रबार उक्त कार्यक्रम सम्पन्न भएको पालिका प्रबक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।
पालिका भित्रका ३७ वटा सामुदायिक वनका पदाधिकारी जनप्रतिनिधि लगायतको उपस्थितिमा सम्पन्न कार्यक्रममा सामुदायिक वनको अवस्था र समस्या लगायतको विषयमा छलफल भएको बताइएको छ । यस्तै संघीय संरचना अनुसार सामुदायिक वन सम्बन्धि नीति नियम लगायतको विषयमा डिभिजन वन कार्यालय सोलुखुम्बुका वन अधिकृत मनराज राईले प्रष्ट पार्नुभएको थियो ।
कार्यक्रममा उठेका सवालका विषयमा जवाफ दिदै डिभिजन वन कार्यालय सोलुखुम्बुका प्रमुख रामजी शाहले जिल्लामा नै पहिलो पटक थुलुङ दुधकोशी गाउँपालिकाले प्रभावकारी कार्यक्रम आयोजना गरेको बताउँनुभयो । बुझेर मात्रै वन ऐन अनुसार काम गर्न सामुदायिक वनका पदाधिकारीहरुलाई उहाँले सुझाव दिनुभयो ।
यस्तै गाउँपालिका अध्यक्ष असिम राईले वन संरक्षणमा समितिको भुमिका उल्लेखनीय रहेको भन्दै नीति अनुसार चुस्तदुरुस्त काम गर्न निर्देशन दिनुभयो । वनलाई व्यवसायीकतामा जोड्ने कार्यक्रम बारे योजना बनिरहेको भन्दै अध्यक्ष राईले वन विकासलाई उच्च प्राथमीकतामा राखेर काम गर्ने बताउँनुभयो ।