
काठमाडौं । स्याङ्जा–१ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. धनञ्जय रेग्मीले आगामी निर्वाचनलाई लक्षित गर्दै आफ्नो प्रतिबद्धतापत्र (बाचा पत्र) सार्वजनिक गरेका छन् ।बाचा पत्र सार्वजनिक गर्दै रेग्मीले पूर्वाधार विकासतर्फ सिद्धार्थ राजमार्गको स्तरोन्नति, राम्दी पुलको शीघ्र सम्पन्नता, ग्रामीण सडक सुधारलाई मूल प्राथमिकतामा राखेका छन् ।
दुर्गम क्षेत्रमा टेलिफोन टावर स्थापना, सिँचाइ सुविधा विस्तार तथा तटबन्ध निर्माणलाई प्राथमिकतामा राख्ने उनले बताएका छन् । विकासका काममा तीनै तहका सरकारबीच समन्वय गरी काम गर्ने उनको भनाइ छ ।स्थानीय समस्या नजिकबाट बुझेको र समाधानका लागि स्पष्ट दृष्टि तथा व्यवहारिक योजना रहेको बताउँदै डा. रेग्मीले संसद्मा पुगेपछि जनमुखी र जीवन्त संसद निर्माणमा सक्रिय भूमिका खेल्ने योजना रहेको उल्लेख गरेका छन् । स्थानीयदेखि राष्ट्रिय महत्वका विषयहरूलाई प्राथमिकताका साथ उठाउने र आवश्यक कानुन निर्माणमा अग्रसर रहने बाचा पत्रमा उल्लेख छ । विद्यालय शिक्षा विधेयक पारित गराउन पहल गर्ने तथा सार्वजनिक सेवालाई डिजिटल, पारदर्शी र ट्र्याकयोग्य बनाउने प्रतिबद्धता पनि उनले जनाएका छन् ।
शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, सिंचाई तथा रोजगारी क्षेत्रलाई विशेष प्राथमिकता दिँदै बल्क खेती, कृषि मूल्य शृंखला विकास, युरिया मल उद्योग स्थापना, सुन्तला उत्पादन क्षेत्रलाई ‘हब’ का रूपमा विकास तथा प्रशोधन उद्योग स्थापना गर्ने योजना रहेको उनले बताएका छन्।पर्यटन प्रवद्र्धनका लागि पोखरासँग समन्वय गर्दै स्याङ्जालाई एकीकृत पर्यटन गन्तव्यका रूपमा विकास गर्ने, साहसिक पर्यटन विस्तार गर्ने र पञ्चासे क्षेत्रलाई प्राथमिकतामा राख्ने उनले बताएका छन् ।
वातावरण संरक्षण, नदी दोहन नियन्त्रण, पूर्वसैनिकका लागि हेल्प डेस्क स्थापना तथा युवालाई सुरक्षित वैदेशिक रोजगारीमा पहुँच विस्तार गर्ने कार्यक्रम पनि अघि बढाउने उनले बताएका छन्। युवा तथा खेलकुदतर्फ प्रत्येक पालिकामा खेल पूर्वाधार विकास, आईटी तथा डिजिटल सीप तालिम र स्टार्टअप प्रवद्र्धन गर्ने योजना रहेको उनले उल्लेख गरेका छन् । समापनमा उनले घण्टी चिन्हमा मतदान गर्न आह्वान गर्दै सफा राजनीति, सक्षम नेतृत्व र समुन्नत स्याङ्जाका लागि परिवर्तन आवश्यक रहेको बताएका छन् ।

White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com