
मोरङ — प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मोरङ क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश कार्की विजयी भएका छन्। विजयी भएपछि नेपाली कांग्रेसका नेता डा. शुनिल कुमार शर्माले कार्कीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
शर्माले एक वक्तव्य जारी गर्दै लोकतन्त्रमा जनमत सर्वोपरि हुने उल्लेख गर्दै मतदाताको निर्णयलाई सहर्ष स्वीकार गरेको बताएका छन्। उनले लोकतन्त्र केवल सिद्धान्त मात्र नभई जनमतको सम्मान र व्यवहारमा प्रतिबिम्बित हुने प्रणाली भएको उल्लेख गरेका छन्।
उनले हाल सम्पन्न निर्वाचनमा ठूलो जनमतसहित सफलता हासिल गरेको रास्वपालाई समेत बधाई दिएका छन्। साथै पार्टीका सभापति रबि लामिछाने र बालेन शाहलाई पनि सफल कार्यकालको शुभकामना दिएका छन्।
शर्माले जनताले नयाँ आशा र अपेक्षासहित प्रतिनिधि चयन गरेको उल्लेख गर्दै संसदमा प्रभावकारी भूमिका निर्वाह गर्दै नीतिगत सुधारमार्फत मुलुक र मोरङ–३ का नागरिकको अपेक्षा पूरा हुने विश्वास व्यक्त गरेका छन्।
साथै उनले निर्वाचनमा आफूलाई मत दिने सम्पूर्ण मतदाता, नेपाली कांग्रेस मोरङ–३ का नेता–कार्यकर्ता, शुभेच्छुक तथा सहयोगीप्रति धन्यवाद र कृतज्ञता व्यक्त गरेका छन्।
उनले लोकतन्त्रमा जीत र हार स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै जनताको सेवा, जिम्मेवारी र संवादको यात्रा भने निरन्तर रहने बताएका छन्। आगामी दिनमा पनि आम नागरिकसँगको सम्बन्ध र सहकार्यलाई निरन्तरता दिने उनको प्रतिबद्धता छ।

White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com