
नेपाली कांग्रेसका नेता डा. शुनिलकुमार शर्माले पछिल्लो समय बजारमा फैलाइएको हल्ला तथा भ्रमप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। उनले आफूले सञ्चालन गर्दै आएका संस्थामार्फत नागरिकलाई निरन्तर सेवा र सहयोग प्रदान गर्दै आएको स्पष्ट पारेका छन्।
शर्माले लाइफ मेडिकल कलेज र पाथवे मेडिकल कलेजमार्फत विगतदेखि नै विभिन्न सामाजिक तथा स्वास्थ्यसम्बन्धी सेवा प्रदान गरिँदै आएको जानकारी दिएका छन्। विशेषगरी आर्थिक अवस्था कमजोर भएका नागरिकलाई प्राथमिकतामा राखेर छुटदेखि निःशुल्क उपचारसम्मका सुविधा उपलब्ध गराइँदै आएको उनको भनाइ छ।
उनका अनुसार यस्ता सेवा तथा सुविधाहरू देशका विभिन्न स्थानमा सम्बन्धित वडाहरू र जिल्लाहरूमा आधिकारिक प्रक्रिया र माध्यममार्फत उपलब्ध गराइँदै आएको छ। नागरिकको आवश्यकता र आर्थिक अवस्थालाई ध्यानमा राखेर सेवा प्रदान गर्ने प्रयास निरन्तर रूपमा भइरहेको उनले बताएका छन्।
शर्माले चुनावमा हार वा जित हुनु र सामाजिक सेवा तथा सत्कर्मबीच कुनै सम्बन्ध नरहेको उल्लेख गर्दै समाज र राष्ट्रप्रतिको दायित्वका आधारमा यस्ता सेवा तथा सहयोगका कार्यहरू आगामी दिनमा पनि देशभर निरन्तर जारी रहने बताएका छन्।
साथै उनले बजारमा फैलाइएका हल्ला वा भ्रममा नपर्न आग्रह गर्दै आवश्यक जानकारीका लागि सम्बन्धित वडामा रहेका संस्थासँग आबद्ध प्रतिनिधिहरूसँग सम्पर्क गरी संस्थाको नियम र विधिअनुसार सेवा लिन सबैमा अनुरोध गरेका छन्।

White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com