
काठमाडौं । डा. सुनिल शर्मा ले पार्टी सभापति गगन थापा को राजीनामा समाधान नभई भावावेशमा आएको प्रतिक्रिया मात्र हुने बताएका छन्।
नेपाली कांग्रेसका नेता शर्मा ले अहिले देखिएको संकटको समाधान सभापतिको राजीनामामा नभई पार्टीभित्र गहिरो आत्मसमीक्षा र पुनर्गठनमा रहेको बताएका हुन्। उनका अनुसार नेतृत्वमाथि नैतिक जिम्मेवारी अवश्य रहने भए पनि सम्पूर्ण असफलताको भारी एउटै व्यक्तिको काँधमा थोपर्नु राजनीतिक रूपमा न्यायोचित हुँदैन।
शर्माले अहिलेको अवस्था कुनै एक व्यक्तिको कारणले मात्र सिर्जना नभएको बताउँदै दशकौँदेखि चल्दै आएको अवसरवादी राजनीति, विगतका गलत निर्णय तथा जनभावना विपरीतका गतिविधिको दीर्घकालीन परिणाम भएको उल्लेख गरेका छन्।
उनले विशेष महाधिवेशनपछि पार्टीमा आएको परिवर्तनको प्रयासलाई पनि स्मरण गर्दै यदि पुरानै नेतृत्व र कार्यशैलीमा चुनाव लडिएको भए आजको अवस्था अझ जटिल हुन सक्ने बताएका छन्।
त्यस्तै उनले नेपाली कांग्रेस को इतिहास र परम्परालाई स्मरण गर्दै कोइराला परिवार ले लोकतन्त्र, त्याग र संघर्षको प्रतीकका रूपमा पार्टी र देशको राजनीतिमा महत्वपूर्ण योगदान दिएको बताए। अहिलेको संक्रमणकालीन अवस्थामा पनि कोइराला परिवारले आफ्नो ऐतिहासिक विरासतलाई सम्झँदै पार्टीभित्र एकता, विवेक र सहकार्यको वातावरण निर्माण गर्न अग्रसर हुनुपर्ने उनको भनाइ छ।
शर्माले विगतका कमजोरीबाट पाठ सिक्दै अब पार्टीलाई शून्यबाटै उठाउने समय आएको उल्लेख गर्दै जनताको गुमेको विश्वास पुनः जित्न सबै नेता तथा कार्यकर्ता एकढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
उनले पार्टीलाई फेरि जनतामाझ विश्वासिलो र शक्तिशाली शक्तिका रूपमा स्थापित गर्न सामूहिक प्रयास आवश्यक रहेको बताएका छन्।

White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com