काठमाडौँ । सोलुखुम्बुका उम्मेदवार, सोलुखुम्बुकै मतदाता तर चुनावी चहलपहल भने काठमाडौँमा केन्द्रित देखिएको छ। गाउँ–गाउँ पुगेर मत माग्नुपर्ने बेला अधिकांश मतदाता काठमाडौँमै रहेकाले सोलुखुम्बुका मुख्य उम्मेदवारहरू पनि राजधानीमै व्यस्त बनेका छन्। मत आफ्नो पक्षमा पार्न उम्मेदवारहरूले काठमाडौँमा ठूला भेला, अन्तरक्रिया र शक्ति प्रदर्शनका शैलीमा चुनावी कार्यक्रमहरू आयोजना गरिरहेका छन्।
सोलुखुम्बुबाट प्रतिनिधिसभा सदस्य बन्ने दौडमा रहेका मुख्य तीन उम्मेदवार अहिले काठमाडौँमै आक्रामक चुनावी प्रचारमा जुटेका छन्। रोचक पक्ष के छ भने यी तीनै जना उम्मेदवार संसदीय अनुभवविहीन, अर्थात् फ्रेस अनुहार हुन्। तर जिल्लाका मतदातामाझ भने उनीहरू परिचित नाम मानिन्छन्। गाउँ फर्किनुअघि काठमाडौँमा रहेका मतदातासँग एक चरण भेटघाट गरेर मतदानको निम्तो दिने उनीहरूको रणनीति देखिन्छ।
यसै क्रममा नेकपाबाट उम्मेदवार बनेका युवा नेता असिम राईले काठमाडौँको सुकेधारामा भव्य चुनावी कार्यक्रम आयोजना गरे। सोलुखुम्बुमा लोकप्रिय युवा नेतृत्वको छवि बनाएका राईले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा हलभरि मतदाता जम्मा गर्दै आफ्नो जित सुनिश्चित भइसकेको दाबी गरे। कार्यक्रममा प्रचण्ड पनि उत्साहित देखिए। सोलुखुम्बुदेखि टाढा काठमाडौँमै ठूलो संख्यामा मतदाता उपस्थित देखेर उनले “असिम राईलाई जिताएर पठाउनुस्, के गर्नु पर्ने हो म गर्नेछु” भन्दै अभिव्यक्ति दिए, जसपछि हल तालीले गुन्जिएको थियो। अहिलेसम्म पार्टी नेतृत्वलाई नै बोलाएर काठमाडौँमा चुनावी सभा गर्ने सोलुखुम्बुका उम्मेदवारमध्ये असिम राई पहिलो बनेका छन्।
उता एमालेकी उम्मेदवार कल्पना राईले पनि काठमाडौँमै आफ्ना मतदातासँग वृहत अन्तरक्रिया आयोजना गरिन्। सुकेधाराकै एक पार्टी प्यालेसमा आयोजित कार्यक्रममा एमालेका जिल्लाभरका नेताहरू, अगुवा कार्यकर्ता तथा मतदाताको उल्लेख्य उपस्थिति थियो। उक्त कार्यक्रममार्फत एमालेले सोलुखुम्बुमा पार्टी एकढिक्का रहेको सन्देश दिन खोजेको देखिन्छ।
सबैभन्दा ठूलो दल नेपाली काँग्रेसका उम्मेदवार प्रकाश सिंह कार्की भने आफ्नै तयारीमा छन्। उनी अन्तरक्रिया, वन–टु–वन भेटघाटमा व्यस्त देखिन्छन्। तर अन्य उम्मेदवारको तुलनामा उनलाई आफ्नै पार्टीभित्रको असन्तुष्टि व्यवस्थापन गर्न बढी समय खर्चिनुपरेको छ। टिकट नपाएको असन्तुष्टिमा रहेका नेता आङगेलु शेर्पा र जिल्ला सभापति नाम्गेल जाङबु शेर्पालाई फकाउने प्रयासमै कार्की व्यस्त छन्। कार्कीले अन्तिममा पार्टी एकढिक्का भएर चुनावमा जाने दाबी गर्दै आफू २२ हजार मतले विजयी हुने दाबीसमेत गरेका छन्।
यी तीन मुख्य उम्मेदवारबाहेक सोलुखुम्बुमा रास्वपाबाट ऋषिधन राई, जसपाबाट लहाक्पा शेर्पा, श्रम संस्कृति पार्टीबाट वियस राई लगायत उम्मेदवार पनि चुनावी मैदानमा छन्। सोलुखुम्बुको अबको सांसद को बन्ने भन्ने निर्णय भने फागुन २१ गतेको मतदानपछि मात्रै हुने छ।






